काठमाण्डौ । सरकारले माघको तेस्रो सातादखि कोभिड संक्रमण ओरालो लाग्दै जाने आँकलन गरेको छ ।
अबको एक साता संक्रमण उच्च विन्दुमा पुग्ने र माघको तेस्रो सातादेखि ओरालो लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको आजको कोरोना व्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले संक्रमण उत्कर्षमा पुगेपछिका केही साता स्थिर रहने र त्यसको ४ देखि ६ सातामा संक्रमण घटेर जाने जानकारी दिनुभयो । उहाँले अहिले नेपाल कोरोना संक्रमणको तेस्रो लहरको चरम विन्दुमा पुग्दै गरेको र आगामी दिनमा दैनिक संक्रमितको संख्या २० हजारसम्म पुग्सक्ने बताउनुभयो ।
मन्त्रालयले कोरोनाको लक्षण देखिनासाथ परीक्षण भन्दा पनि क्वारेन्टाइनमा बस्न सुझाएको छ । कोरोनाका लक्षण देखिनासाथ ५ दिन क्वारेन्टाइन बसाई पश्चात् मात्र कोरोना परीक्षण गर्नुपर्ने सुझाएको हो । मन्त्रालयले ५ दिन क्वारेन्टाइन नभए ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने जनाएको छ ।
यस्तै सरकारले बजारमा सिटामोलको अभाव नभएको बताएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बजारमा सिटामोलको अभाव नभएको प्रष्ट पार्नु भएको हो । मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत उहाँले सिटामोलसँगै अन्य कुनैपनि औषधि अभाव नभएको बताउनुभयो । डा.अधिकारीले सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल रहेको जानकारी समेत दिनुभयो ।
उहाँले सरकारी अस्पताल र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखालाई औषधि अभाव हुनसक्ने अवस्था आएमा तत्काल सम्र्पक गर्न आग्रह गर्नुभयो । विभागले अत्यावश्यक औषधि खरिदको प्रकृयालाई अगाडि बढाएको डा.अधिकारीले जानकारी दिनुभयो ।००००