बाँके । युथ टुडे मिडिया नेटवर्क प्रा.लिको आयोजनामा बिहिबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा शिक्षा र स्वास्थ्यकोे अवस्था विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन नागरिक संवाद सहजीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले किशोरीहरुलाई लक्षित गरी संचालन गरिएको कन्या माविमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गराईएको बताउँदै शिक्षक र शिक्षण संस्थालाई श्रोत साधन सम्पन्न बनाउने र दरबन्दी अनुसारको शिक्षक व्यवस्था गर्ने काम वडाको पहलमा भईरहेको बताउनु भयो । उहाँले नागरिकहरुबाट आएको गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । वडा अध्यक्ष बेहनाले बिपन्न तथा जेहनदार किशोरीहरुलाई आफनो व्यक्तिगत खर्चबाट पढाउने संवाद कार्यक्रममा प्रतिबद्धता गर्नु भएको थियो ।

नेपालगञ्ज उपमहानगर पालिका वडा नं. ४ कि सदस्य एंव कार्यपालिका सदस्य इन्दीरा शाहीले स्वास्थ्य सेवाको प्रगतिको अवस्था वडामा सन्तोषजनक भएको बताउँदै जनताको चाहना अनुसार आफूहरु काम गर्न सफल भएको बताउनु भएको थियो । स्थानीय टंक गहतराजले कोरोनाको समयमा वडाले गरेको कामलाई आफूहरु भुल्न नसक्ने बताउदै वडा अध्यक्षको खुलेर प्रशंसा गर्नु भयो । उहाँले थप्दै भन्नु भयो कोरोनाको समयमा माओबादीका नेता बसन्त मल्ल लगायतले खेलेको भूमिकाको स्वागत योग्य रहेको थियो । उहाँले अन्य वडाको तुलनामा ४ नम्बरले धेरै राम्रो गरे पनि फोहर व्यवस्थापनमा ध्यान केन्द्रीत गर्न वडालाई सुझाव दिनु भएको थियो ।

यस्तै इश्वरी बस्यालले सडक नाला बने पनि नालाको सफाई नहुदाँ टोल दुर्गन्धीत भईरहेकोले तत्काल नाला सफा गरीदिन जनप्रनितिहरुलाई सुझाव दिनु भएको थियो । उहाँले शिक्षा स्वास्थ्यको क्षेत्रमा वडाले गरेको काम नमूना योग्य रहेको जिकिर गर्नु भएको थियो । कन्या माबिमा अध्ययन गरी रहेकि किशोरी इमरन साईले वडाको सहयोगमा स्कुलमा अतरिक्ता कक्षा संचालन भईरहेको जानकारी दिनु भएको थियो । उहाँले जनप्रतिनिधिहरुले गर्दा आफूहरु नयाँ संसारमा समाहित भएको बताउदै भन्नुभयो, किशोरीहरु मात्र पढने बिद्यालय वडामा नै संचालन नगरेको भए आज हामी शिक्षा ग्रहण गर्न पाउदैन थियो होला । साई भावुक हुदै भन्नुभयो,“अन्धकार भित्र गुन्जिरहेको म जस्तो किशोरीहरुलाई शिक्षाको संसारमा पुर्याउनु हुने वडा अध्यक्ष मोहम्मद सफिक बेहनालाई धन्यबाद ।” सोही बिद्यालय कि किशोरी सादीया खानले, एक महिला पूर्ण तबरले समावेशीकृत हुन, राज्य अनि समाजको मूलप्रवाहमा आउन र सशक्तिकरणको मूलधारमा हुनका लागि विशेषगरी लैंगिक समता, प्रजनन स्वास्थ्य, सम्पन्नता हुनुका साथै संस्थागत सहभागिता साथसाथै जीवनोपयोगी शिक्षा तथा उसमा भएको सीपले धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताउनु भयो । उहाँले शिक्षाबाट वञ्चित भएका किशोरीहरुका साथै पढाई बीचैमा छोडेका किशोरीहरूलाई समयमै प्रेरणा दिई उचित शिक्षा दिनसके उनीहरुको भविष्य तथा जीवन उज्ज्वल बन्न सक्ने जिकिर गर्नु भएको थियो ।

कार्यक्रममा शोभा थापाले, वडाले किशोरीहरुलाई शिक्षामा पहुच बढाउनका लागि किशोरीहरूमा परस्पर सहयोग र सम्बन्ध स्थापना गरी आपसी भावनाको विकास गराउदै आएको बताउनु भयो । उहाँले किशोरीहरुको आत्मसम्मान, आत्मबल, आत्मविश्वास बढाउनुका साथै किशोरीहरूलाई आफ्नो उमेरमा परिआउने जोखिमहरूबाट बच्न सक्षम बनाउने काम गरीरहेको जिकिर गर्नु भएको थियो । उहाँले संवाद कार्यकम राखी दिएकोमा युथ टुडेलाई धन्यबाद दिनु भएको थियो । कार्यक्रममा सहभागिहरुले वडामा ८० प्रतिशत काम सम्पन्न भईसकेकोले अबको निर्वाचनमा पून बेहनाले नै नेतृत्व गर्न जरुरी रहेको धारणा राखेका थिए ।

नागरिक संवाद कार्यक्रम संचालन गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ ले सहयोग गरेको भन्दै युथ टुडेका संचालक आलम खानले वडा अध्यक्ष बेहना, सदस्य इन्दीरा शाही, जयपत्रा कोरी, मेनुका बैद्य, बरिष्ठ अधिकृत राजन केसी,वडा सचिव राज कुमार कार्की, लेखा अधिकृत हिरा सिहं डाँगी लगायतलाई सम्मान गर्नु भएको थियो । अध्यक्ष खानले जनताको मौलिक हकको रुपमा रहेको शिक्षा र स्वास्थ्य अधिकारको क्षेत्रमा जनतालाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन कार्यक्रम आयोजना गरिएको बताउनु भएको थियो । युथ टुडे न्युज डट कम कि संवाददाता सोनाली गुप्ताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा अध्यक्ष बेहना, सदस्य इन्दीरा शाही, जयपत्रका कोरी, वडा सचिव राज कुमार काकी लगायतले शिक्षा र स्वास्थ्य अधिकारको बारेमा धारणा राख्नु भएको थियो ।