काठमाडौं। नेपालमा कोरोना सङ्क्रमणदर ज्यामितिय अनुपातमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा २ सय ७१ जना निको हुँदा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।
हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ ।