काठमाण्डौ । सरकारले नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्रगतिमा फैलन सक्ने आंकलन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले ओमिक्रोनबाट ४० प्रतिशत नागरिक संक्रमित हुनसक्ने भन्दै स्वास्थ्यका पूर्वाधार तयारी अवस्थामा राखेको जनाएको हो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले अझै संक्रमितको संख्या तीव्रगतिमा बढ्न सक्ने बताउनुभयो ।

नेपालमा हालसम्म २७ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । तर एक सातायता भेटिएका संक्रमित मध्ये धेरैलाई डेल्टा भेरियन्ट पुष्टि छिमेकी राष्ट्र भारतमा ओमिक्रोन भेरियन्ट पुष्टि भइरहेकाले संक्रमण फैलने जोखिम उच्च रहेको मन्त्रालयले जनाएको छ । सरकारले कोरोना महामारीको तेस्रो लहर भनेर घोषणा नगरेपनि पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो समय भारतबाट नेपाल फर्किने नेपालीहरुको संख्या वृद्धि हुँदै गएकाले पनि संक्रमणको उच्च जोखिम बढेको हो । यता, त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक तथा छातीरोग विषेशज्ञ डा. निरज बमले समयमै ओमिक्रोनको रोकथाम गर्न नसकेको खण्डमा चुनौतिपूर्ण अवस्था सृजना हुनसक्ने बताउनुभयो ।

अधिकांश ब्यक्तिहरुले खोप लगाएकाले संक्रमितको संख्या बढेपनि जटिल अवस्थाका बिरामीले कम हुने सरकारको आंकलन छ । सरकारले आगामी पुस मसान्तसम्म १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजार १ सय ६४ नागरिकलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य राखेको छ ।००००