फिदिम। नेकपा एमाले पाँचथरको जिल्ला कमिटीको महाधिवेशनको बन्दसत्रले राजकुमार भण्डारीको अध्यक्षतामा सर्वसम्म जिल्ला कमिटी गठन गरेको छ। अधिवेशनको बन्दसत्रले अध्यक्षसहित अन्य पदाधिकारीसहितको जिल्ला कमिटी सर्वसहमत टुङ्गो लगाएको हो।
जिल्ला कमिटीको अध्यक्षमा राजकुमार भण्डारी, उपाध्यक्षमा धनकुमार फियाक‘लिम्बू’, सचिवमा विष्णु प्रसाद सापकोटा ‘विमल’, उपसचिवमा नरबहादुर गुरूङ र पृथ्वी लावती सर्वसहमत चयन भएका हुन्। यसको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ। अधिवेशनको बन्दसत्रले जिल्ला कमिटी ९० सदस्यीय बनाउने तय गरेको छ। त्यस्तै, बन्दसत्रले भूवानी लिङ्देनको संयोजकत्वमा ५१ जनाको सल्लाहकार परिषद्समेत गठन गरेको छ ।

