सिन्धुलीमाढी। नेकपा एमालेको जारी जिल्ला अधिवेशनमा नेकपा एमाले सिन्धुली जिल्ला कमिटिको सचिवमा नारायण बराल निर्विरोध निर्वाचित भएका छन्। जिल्ला कमिटीको जारी सातौँ अधिवेशनमा सचिवका लागि बरालको मात्रै  उम्मेदवारी परेपछि निर्विरोध भएका हुन्। 

जारी सातौँ जिल्ला अधिवेशनले १ सय ५ जना जिल्ला कमिटीको टुङ्गो लगाउने छ। बन्दसत्रको दिन शनिबार नेकपा एमालेको जिल्ला अध्यक्षमा पूर्व अध्यक्ष प्रदिप कटुवाल र  राम कुमार कार्कीले अध्यक्षका लागि उम्मेदवारी दिएको र आज बिहानबाट मतदान सुरु भएको निर्वाचन अधिकृत जंगबहादुर राईले बताए। 

जारी अधिवेशनमा १ सय ५ पदका लागि १ सय ६८ जनाले उम्मेदवारी दिएको अधिकृत राईले बताएका छन्। अधिवेशनको बन्दसत्रमा उपाध्यक्षका लागि बिनोद कुमार खड्का, जगदिश्वरतोलाङ्गी र कर्ण बहादुर घिसिङ्ले उम्मेदवारी दिएका छन्। उपसचिवमा खड्ग रजन, मन्जु देवकोटा, नवराज थिङ र रम्मीला देवकोटाले उम्मेदवारी दिएको राईले बताए। 

त्यस्तै, सदस्य पदका लागि १ सय ५८ जनाको उम्मेदवारी परेको छ। निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने छ। मतगणना बेलुका ६ बजे शुरु हुनेछ।