नोवेल कोरोना भाइरस अर्थात् नयाँभाइरस । यो भाइरसको विषयमा यसअघि कसैलाई पनि थाहा थिएन । सन् २०१९ डिसेम्बर अन्त्यमा चीनको वुहानबाट शुरुभएको कोरोना भाइरस इटाली हुँदै युरोपभर महामारीको रुपमा फैलियो । संसारभर लाखौँ मानिसको ज्यान लियो । संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ । यदाकदा कोरोना भाइरस मानवजातिको लागि तेस्रो विश्वयुद्ध सरह भएको समेत भन्ने गरिएको छ । हाल यस भाइरसको औषधी अर्थात् एन्टी डोट पत्ता लागि नसकेकाले यसको नियन्त्रण कहिले र कसरी होला ? संसार नै अन्यौलमा छ । यो भाइरसको फैलावट रोक्न मानिस-मानिसबीच हुने सम्पर्क रोक्नु र हिडडुललाई नियन्त्रण गर्नु मुख्य उपायको रुपमा लिइएको छ । कोरोना भाइरसको प्रकोपले विश्व नै थिलथिलो भएको छ । त्यसैले संसारका सबै जसोदेशहरुले लकडाउन घोषणा गरी सेल्फकोरेन्टाइन अर्थात् एकान्त बासमा बस्नुपर्ने नियम लागू गरेका छन् ।
नेपाल पनि यस महामारीबाट अछुतो छैन । पहिलो पटक २०७६ माघ १० गते चीनको वुहान क्षेत्रमा पढ्न गएका एक नेपाली विद्यार्थीमा उक्त भाइरसको संक्रमण भेटिएको थियो । सुखद पक्ष, नेपालमा कोरोना भाइरसबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन । तापनि संक्रमितको संख्या बढ्दै गई रहेको छ । यस्तो अवस्थामा कमजोर अर्थतन्त्र, नाजुक स्वास्थ्य सेवा र कोरोनाको महामारीबाट देशलाई जोगाउने रणनीति र स्रोत साधनहरुको अभाव छ । त्यसमाथि सत्तासीन दलभित्र भर्खरै देखा परेको राजनीतिक खिचातानीले अबको महामारीको फैलावट र त्यसको प्रभावबाट कसरी बच्न र बचाउन सकिन्छ भन्ने चिन्ता आम मानिसहरुमा बढेको छ ।
संक्रमित व्यक्तिबाट आफ्नो परिवार र साथीभाइहरुमा सर्न नदिन अरु व्यक्तिहरुसँग टाढै रहने, स्वस्थ जीवनशैली अपनाउने र व्यक्तिगत भौतिक दुरी कायम राखिएको छ । तर त्यत्तिले मात्रै यो महामारी पूर्ण रुपमा रोकथाम हुन गाह्रो छ । यस्तो विषम अवस्थामा आ–आफ्ना साधनस्रोत, जनशक्ति र क्षमताअनुसार विभिन्न सञ्चारमाध्यमहरुले कोरोना भाइरस संक्रमणबारे समाचार र विचारहरु प्रसारण गरिराखेका छन् । जनचेतना फैलाइराखेका छन् । यस्तो काम गर्नु सञ्चारमाध्यमहरुको प्रमुख दायित्व हो । त्यही दायित्व बहन गरिरहेका छन् ।
महामारीमा मिडिया
देशको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र कानूनी व्यवस्थाका आधारमा सञ्चारमाध्यमको भूमिका निर्भर हुने गर्दछ । सरकार र समुदायबीचमा सञ्चार कायमगर्न सञ्चारमाध्यमले पुलको भुमिका निर्वाह गरेका हुन्छन् । यस्तो भूमिका यस्तै प्राकृतिक प्रकोप र महामारीका बेला अरु महत्वपूर्ण हुन्छ । अहिले कोरोना भाइरसको महामारीको बखत सञ्चारमाध्यमको सक्रियता यसैको प्रमाण हो । सञ्चारमाध्यमहरुले यस्तो बेलामा समाजलाई सचेत बनाउने, जागरण ल्याउने र शिक्षा दिने बिषयमा पनि सूचना प्रवाह गरिरहेका हुन्छन् । उदाहरणका लागि कोरोना भाइरसको जानकारी, यसको रोकथामका उपाय र यसको संक्रमण बिरुद्ध व्यक्ति समाजको भूमिकाका बारे पनि सुसूचित गराईरहेको हुन्छ । यस्तो सूचना नागरिकले बुझने भाषा वा संकेतमा प्रवाह गराउनु सञ्चारमाध्यमको जिम्मेवारी भित्रको कुरा हो ।
कोरोना भाइरस प्रकोपको नियन्त्रणका लागि सरकारले २०७६ चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोष, विश्ववैङ्क लगायतबाट क्रणलिएर भएपनि कोरोना कोष खडा गरी स्वास्थ्य सामाग्रीहरुको जोहो गर्न लागि परिरहेको छ । त्यसैगरी सञ्चारमाध्यमहरुले पनि यहि समयलाई मौकाको रुपमालिएर फाइदा उठाउने सरकारी र व्यापारी विचौलियाहरुको खबरदारीसँगै कोरोना भाईरससम्बन्धी आवश्यक जानकारी आ–आफ्नो साधनस्रोत अनुसार समाजलाई पस्कने भुमिका निर्वाह गर्दै आइरहेका छन् ।
यसको अलवा खाद्यान्न, पिउने पानी, खानापकाउने ग्याँस, औषधीको अभाव जस्ता नागरिकलाई परेको समस्या र समधानका उपायहरुको विषयमा पनि सञ्चारमाध्यमले खबरदारी गरिरहेका छन् । इन्टरनेटको साथै मुलधारका सञ्चारमाध्यमको पहुँच नभएको गाउँहरुमा सामुदायिक रेडियोको भुमिका अहम् छ । ग्रामिण क्षेत्रलाई लक्षित गरी सञ्चालित सामुदायको नाममा संचालित केहि रेडियोहरुले मातृभाषामा सुचना प्रवाह गर्दै आएका छन्, तर कति रेडियोले यो जिम्मेवारी पुरा गरे वा गर्न बाँकी छ ? त्यो भने अध्ययनको विषयहो । तथापी कतिपय आदिवासी/जनजातिहरुको भने उनीहरुले बोल्ने र बुझ्ने भाषामा रेडियो र टेलिभिजनमा जानकारीहरु उपलब्ध नभएको गुनासो छ ।
मातृ भाषामा सुचना प्रवाहको अभ्यास
कोरोनाभाइरसको महामारीको सन्दर्भमा मातृ भाषामा सूचना प्रवाह महत्वपूर्ण छ । संयुक्त राष्ट्रसंघको महासभाद्वारा पारित मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८, को विशेष गरी धारा १९ मा, मातृभाषा अन्तर्राष्ट्रिय मानव अधिकारको रुपमा व्याख्या गरिएको छ । त्यसैगरी संयुक्त राष्ट्रसंघको महासभाले सन् २००७ मे १६ मा संकल्प प्रस्ताव पारित गर्दै सदस्य राष्ट्रहरुलाई अफ्नो देशभित्र बोलिने सबै भाषाहरुलाई संरक्षण र संवद्धन गर्न आह्वान गरेको थियो । आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, २००७ को धारा १६ मा मातृ भाषामा सूचना पाउने र मातृभाषामा सञ्चारमाध्यम संचालनगर्न पाउने आदिवासीको अधिकारको रुपमाव्याख्या गरेको छ ।
नेपालको संविधानले पनि सबैलाई आफूले बोल्ने र बुझ्ने भाषामा स्वास्थ्य सम्बन्धी जानकारी र सूचना प्राप्त गर्ने मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको छ । कतिपय अवस्थामा औपचारिक नेपाली भाषामा मात्र सूचना प्रसारित हुँदा मातृभाषा मात्र बोल्ने र बुझनेहरु मामहामारीसम्बन्धी दिएको जानकारी र सुचना महत्वहिन हुन्छन् । उदाहरणको लागि सरकारले लकडाउन घोषणा गरेको शुरुको केहि दिनमा काठमाडौं महानगरपालिकाका अधिकारीहरुले घरबाहिर ननिस्कन आग्रह गर्दै नेपाली भाषामा माइकिङ गरे पनि पसलहरु खुल्ला रहे, सडक, गल्ली, चोक र बजारहरुमा बुढापाका र बालबालिकासहित सबै जना सँधै झै निस्केर गफिन्थे ।
जब काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल भाषामा कोरोना भाइरसबाट कसरी जोगिने भन्ने सन्देश दिनुभयो र लगत्तै वडा कार्यालयहरुले टोलटोलमा नेपालभाषामै माइकबाट सूचना प्रवाह गरे । त्यसलगत्तै सडक र चोकहरुमा भेटघाट गर्ने कार्य ठप्प भयो । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि गुरुङ भाषीहरुका लागि भन्दै सचेतना सन्देश गुरुङ भाषामै दिनु भयो । त्यसै गरी खुम्बु पासाङल्हामु गाउँपालिकामा सञ्चालित खुन्दे अस्पतालमा कार्यरत डाक्टर कामी तेम्बा शेर्पाले कोरोना भाईरसबाट बच्ने उपायका बारेमा शेर्पा भाषामा जानकारी दिनुभयो । यी प्रसंगहरु मातृभाषामा सूचना प्रभावकारी मात्रहोइन महत्वपूर्ण हुन्छ भन्ने सिकाई र कार्यान्यवनका केहि उदाहरणहरु मात्र हुन् ।
महामारी सुरु भएसँगै आदिवासीका संघ संस्थाहरुले आ–आफनो भाषामा कारोना भाइरससम्बन्धी जानकारी दिने प्रयाससँगै आदिवासीहरुले सञ्चालन गरेका सामुदायिक रेडियो र टेलिभिजनहरुले मात्रहोइन, सरकारी र निजी मिडिया, सरकारी तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले समेत मातृभाषामा सन्देश निर्माण गर्ने र प्रसारण गर्ने केहि प्रयासहरु भएको देखिन्छ ।
हुनत, नेपालमा नेपाली भाषामै पनि सूचना प्रवाह गर्दा अङग्रेजी शब्दवालीहरु जस्तै लकडाउन, सेल्फक्वारेन्टाईन, सेल्फआइसोलेसन जस्ता शब्दवालीहरु प्रयोग हुँदा कतिपय नेपाली भाषीहरु समेत अल मलमा परे । गैर नेपाली मातृभाषी समुदायहरु थप रणभुल्लमा परे । नेपालका पहाडी इलाकामा बसोबास गर्ने, सडक र सिमाना जोडिएका र बाहिरिया मानिसहरुसँग सम्पर्क नभएका र खेती किसानीमा रमाउने आदिवासीहरुलाई कोरोना भाइरसको चिन्ता नभए पनि भारत र चीनसँग सीमा जोडिएका क्षेत्रमा बसोबास गर्ने आदिवासी/जनजातिहरुमा भने भाइरसको त्रास फैलिएको मात्र होइन सरकारले घोषण गरेको लकडाउनका कारण खाद्यान्न अभाव बढेको समाचारहरु आएका छन् ।
बेरोजगार, दैनिक ज्यालादारी गरी गुजारा गर्ने अधिक संख्यामा आदिवासी/जनजातिहरु रहेका छन् । अधिकांश अदिवासी/जनजातिहरु ग्रामिण क्षेत्रमा बसोबास गर्ने भएको कारण स्वास्थ सेवाको मात्र होइन सूचना र शिक्षाबाट समेत वञ्चित छन् । त्यस कारण भाषागत विविधता भएको देशमा, महामारीको बेला केहि न केहि योगदान दिऔँ भन्नकै लागि भए पनि विभिन्न मातृभाषी समुदायहरुलाई लक्षित गरी विभिन्न मातृभाषामा कोरोना भाइरससम्बन्धी सामाजिक सन्देश उत्पादन र प्रसारण गर्ने यस्ता प्रयासहरु महत्वपूर्ण छन् । प्रासांगिक र प्रशंसनीय पनि छन् ।
-लेखक इण्डिजिनियस टेलिभिजनका अध्यक्ष हुन् ।