काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको दाबी गरेका छन ।

स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विज्ञप्तिले ओमिक्रोन समुदायस्तरमा पुगिसकेको प्रष्ट संकेत गरेको विज्ञहरुको भनाई छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको थियो ।

मन्त्रालयको विज्ञप्ति अनुसार र्याण्डम स्याम्पलिङ विधिबाट पुस महिनामा कोरोना पोजेटिभ आएका ११ सय ४६ नमुना संकलन गरिएको थियो । त्यसको एसजिन स्क्रिनिङ गर्दा २५० वटा अर्थात २२ प्रतिशत नमुनामा एसजिन नेगेटिभ आयो ।

एसजिन नेगेटिभ आएका २५० मध्ये २४ नमुनाको जिन सिक्वेन्सिङ गरिएकोमा सबै नमुनामा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । दैनिक संक्रमण पुष्टि भएको चारभाग मध्ये झण्डै एक भाग संक्रमितमा ओमिक्रोनको संक्रमण देखिएको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो ।

यस्तै सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले अबको केही हप्तामा ओमिक्रोन संक्रमितको संख्या बढ्दै जाने बताउनुभयो । संक्रमितहरुको पहिचान गरेर उनिहरुलाई आइसोलसन नराख्ने हो भने कोरोना महामारी नियन्त्रण गर्न नसकिने उहाँले चेतावनी दिनुभएको छ ।