काठमाडौं। मानबहादुर विष्णुमाया सुनुवार स्मृति कोषले ८ जना सुनुवार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। कोषले बिहिबार सुनुवार सेवा समाज संघीय समितिको कार्यालयमा एककार्यक्रमका बीच विद्यार्थीहरूलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेको हो। 

दाता भक्तमान सुनुवारको आर्थिक सहयोग र सुनुवार सेवा समाज, संघीय समितिद्वारा सञ्चालित स्मृति कोषले सिभिल इन्जिनियरिङ अध्ययरत धरान -५, सुनसरीका समिका सुनुवारलाई २५ हजार, मानविकी तथा व्यवस्थापन विषय अध्ययरत बुढानिलकण्ठ -५, काठमाडौंका हिमस कुमार सुनुवार, इटहरी -५, सुनसरीका एलिसा सुनुवार, लिखु तामाकोशी -१, रामेछापका रीना सुनुवार, मेचीनगर -४, झापाका कृतिका सुनुवार र सुनकोशी -९, ओखलढुङ्गाका एनिमोन सुनुवारलाई जनही १५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ। त्यस्तै लिखुतामाकोशी -१, रामेछापका एकै घरका दुई दिदीबहिनीलाई जनही १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको समाजका सचिव उत्तम कुमार सुनुवारले जानकारी दिनु भएको छ। सचिव सुनुवारका अनुसार काठमाडौंबाट ६ जनालाई छात्रवृत्ति वितरण गरिएको र सुनसरीका दुई जनाछात्रालाई सुनुवार सेवा समाज जिल्ला समन्वय समिति सुनसरीले छात्रवृत्ति वितरण गर्ने व्यवस्था मिलाईएको बताउनु भएको छ। त्यस्तै स्मृतिको कोषले प्रदान गर्ने फेलोसिप विधाको छात्रवृत्ति प्रदान गर्न बाँकी रहेको सचिव सुनुवारले बताउनु भएको छ।

स्मृति कोषका दाता भक्तमान सुनुवारले वि. सं. २०७२ सालमा सुनुवार सेवा समाज संघीय समितिले कोष सञ्चालन गर्ने गरी आफ्नो स्वर्गीय बाबु मानबहादुर सुनुवार र आमा विष्णुमाया सुनुवारको स्मृतिमा कोष स्थापना गरेका हुन्। स्थापनाकालदेखि नै कोषले विभिन्न विधामा छात्रवृत्ति प्रदान गर्दै आएको छ। 

छात्रवृत्ति वितरण कार्यक्रम सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष रनबीर सुनुवारको अध्यक्षतामा सुनुवार सेवा समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार मनप्रसाद सुनुवार, सुनुवार मातृभाषाविद् डा. लाल रापचा, सुनुवार सेवा समाज जिल्ला समन्वय समिति काठमाडौंका अध्यक्ष, सुनुवार महिला समाजका सचिव, ब्लामिच समाजका अध्यक्ष लगायतको उपस्थितिमा सम्पन्न भएको थियो। 

कार्यक्रमको शुरुवात मानबहादुर सुनुवार र विष्णुमायाको तस्वीरमा माल्यार्पणसहित याब्ले पिदार गरेर भएको थियो भने सुनुवार सेवा समाज संघीय समितिका महासचिव समीर मुखिया सुनुवारले स्वागत मन्तव्य राख्नु भएको थियो।