जीवन सुनुवार, दोलखा। भाषा आयोगको आयोजनामा तथा सुनुवार सेवा समाज संघीय समितिको संयोजनमा "सुनुवार भाषा अभिलेखिकरण सम्बन्धी गोष्टी (शब्दकोष निर्माण)" सम्पन्न भएको छ। पुस २० गते मंगलबार दोलखा जिल्लाको तामाकोशी गाउँपालिका वडा नं. -७ फाँचे थारलुथेम (देउरालीमा) एक दिने अभिलेखिकरण गोष्टी सम्पन्न भएको हो।

नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको भाषाहरुलाई अभिलेखिकरण गर्ने नेपाल सरकारको योजना अनुरुप वल्लो किराँती सुनुवार समुदायको मातृभाषालाई पनि समेट्ने उद्देश्यले "सुनुवार भाषा अभिलेखिकरण सम्बन्धि गोष्टि (शब्दकोष निर्माण)" शिर्षकमा एकदिने गोष्ठी कार्यक्रम सप्पन्न भएको छ।

आयोजकको तर्फबाट कार्यक्रमको उद्देश्यबारे प्रकाश पारिएको थियो भने प्रमुख अतिथि तामाकोसी गाउँपालिकाका उपाध्यक्ष उर्मिला केसी खड्का तथा अतिथी वडा अध्यक्ष लेख बहादुर सुनुवारले सुनुवार भाषाको लागि गरिने योजनामा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।

त्यस्तै सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष, स्थानीय विद्यालयका शिक्षक, भाषाविद तथा अनुसन्धानकर्ताहरुले मन्तव्य तथा प्रस्तुतीकरण दिएका थिए। भाषा आयोग र सुनुवार सेवा समाज संघीय समितिको सहकार्यमा सुनुवार भाषा शब्द संकलन-शब्दकोष निर्माण योजना कार्यक्रममा भाषाशास्त्री डा. लाल श्याँकारेलु रापचा, भाषा वक्ता संयोजक रणबीर सुनुवार र अनुसन्धानकर्ता झुम प्रसाद राईसहित तीन जनाको प्रारम्भिक अध्ययनटोली निर्माण गरिएको छ। कार्यक्रममा दोलखा जिल्लाको जिरी नगरपालिका तथा तामाकोसी गाउँपालिका र रामेछाप जिल्लाका सुनुवारहरु सहभागी जनाएका थिए।