काठमाडौं। यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ। सेवाग्राहीको गुनासो आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको र छिटो छरितो काम गरिदिने भनी जबरजस्ती तानातान गरेको गुनासो आएपछि ११ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-२ उदयपुर घर भएका २४ वर्षीय अजय मगर, राजघाट गाउँपालिका-७ घर भएका २४ वर्षीय हेमबहादुर मगर, तापाश्री गाउँपालिका-९ घर भएका २७ वर्षीय सुरज मगर, जानकी गाउँपालिका-३ सर्लाही घर भएका १९ वर्षीय साजन मगर, चन्द्रनिगाहपुर नगरपालिका-१ रौतहट घर भएका ३३ वर्षीय विश्वबल्लभ लामा, भरतपोखदरी गाउँपालिका- कास्की घर भएका २४ वर्षीय सृजन थापा रहेका छन् ।

यस्तै चन्द्रनिगाहपुरका २४ वर्षीय सुवास योञ्जन लामा, लमजुङ घर भएका ३२ वर्षीय मेघराज गुरूङ, बाँके घर भएका १९ वर्षीय सुशान गिरी, काठमाडौंको नागार्जुन घर भएका २८ वर्षीय लक्ष्मण सुनुवार र रामेछाप घर भएका ३२ वर्षीय विज्ञान सुनुवार रहेको प्रहरीले जनाएको छ।