काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा छिट्टै लकडाउनमा जानुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएको छ । 

बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता संगीता कौशल मिश्राले अस्पतालका ३० प्रतिशत शय्या कोरोना संक्रमितले ओगटे स्मार्ट लकडाउनमा जानुपर्ने बताउनुभएको हो । 

कार्यविधि अनुसार ३० प्रतिशतभन्दा बढी शय्या संक्रमितले भरिएको अवस्थामा स्मार्ट लकडाउन गर्नुपर्ने भन्दै त्‍यो अवस्था आउन नदिन जनस्वास्थ्यको मापदण्ड पालना गर्न उहाँले अपिल गर्नुभयो । 

बुधबार नेपालमा ४ सय ३५ जना कोभिड संक्रमित थपिएका छन् । यो संक्रमण तीन महिनायताकै उच्च हो ।  मन्त्रालयको तथ्यांकअनुसार, बुधबार काठमाडौंमा सबैभन्दा धेरै २ सय ९ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २६ र भक्तपुरमा १८ जना संक्रमित भएका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय दैनिक थपिने संक्रमितको संख्या सबैजसो प्रदेशमा बढेको छ । विशेषगरी काठमाडौं उपत्यकामा थपिने संक्रमितको संख्या निरन्तर उकालो लाग्दैछ ।

छिमेकी मुलुक भारतमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रूपमा फैलिनु र यहाँ संक्रमित बढ्नुले नेपालमा ओमिक्रोनकै कारण माघ दोस्रो सातासम्म कोभिड–१९ को तेस्रो लहर आउन सक्ने विज्ञहरूले आँकलन गरेका छन् ।