काठमाडौं। बीमा समितिले कोरोना बीमा बापतको दाबी रकम भुक्तानी नदिएसम्मका लागि निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण गर्न नदिने भएको छ। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तत्काल नगद लाभांश वितरण गर्न नदिने सम्बन्धमा छलफल भैरहेको बताएका हुन्।
निर्देशक राजुरमण पौडेलले भने ‘कोरोना बीमाको दाबी भुक्तानी नसकिएसम्मको लागि नगद लाभांश वितरण गर्न रोक लगाउने तयारी भैरहेको छ । तर निर्णय भने गरिसकेको छैन्, उनले भने, ‘हामीले निर्जीवन बीमा कम्पनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश प्रस्ताव नगर्न आग्रह गरिरहेका छौं ।’
उनका अनुसार निर्जीवन बीमा कम्पनीहरुलाई बोनस शेयर वितरणमा भने रोक लगाइएको छैन।
समितिले त्यस्तो निर्णय गरे नेप्सेका सूचीकृत बाँकि निर्जीवन बीमा कम्पनीहरुले बोनस शेयर वितरण गरेपनि नगद लाभांश भने वितरण गर्न पाउने छैनन्। समितिले निर्जीवन बीमा कम्पनीहरुको नगद लाभांश रोकेर कोरोना बीमा दाबी भुक्तानीमा उक्त रकम प्रयोग गर्ने जनाएको छ ।
बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ। त्यस मध्ये ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ भने ११ अर्ब ४३ करोड ९६ लाख ६३ हजार ८९२ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
कोरोना बीमाबापत भुक्तानीको दाबी गरेको करिब २ वर्ष हुन लाग्दा पनि अझैसम्म बीमितहरुले रकम पाएका छैनन् ।