काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरोले बालुवाटार जग्गा घोटाला प्रकरणका आरोपी बिजयकुमार गच्छधार सहित तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको ब्युरोका निर्देशक धिरजप्रताप सिंहले बताएका छन्। उनले जग्गा प्रकरणको मुद्दा अन्तिम चरणमा रहेको समेत जनाएका छन्। 

सिंहका अनुसार तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत छन्। ‘तीन सय बढीको हकमा पक्राउ पूर्जी जारी भएको छ, उनीहरूलाई पक्राउ गर्न हामी लागिरहेका छौं,’ सिंहले भने।

तर, ब्युरोले‘हाइप्रोफाइल’ लाई पक्राउ नगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाने तयारी गरेको छ। ‘पक्राउ पूर्जी जारी भएकालाई सकेसम्म अनुसन्धान प्रतिवेदनसँगै अदालतमा पुर्‍याउने हाम्रो योजना छ,’ ब्युरो स्रोतले भन्यो। 

बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले थुनामा छन्। बाँकी कोही पनि पक्राउ परेका छैनन्।

पक्राउ पूर्जी जारी भएकामध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बस्न्यातविरूद्ध भ्रष्टाचार गरी कालोधन आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।  उनीसँगै छोरा कमल बस्नेत, ज्वाईँद्वय प्रज्जवल अधिकारी र मनोज सुवेदी अनुसन्धानमा छन्। 

ललिता निवास प्रकरणमा तानिएपछि बस्न्यातविरूद्ध अख्तियारले नै सम्पत्ति शुद्धीकरण प्रयोजनका लागि विभागले लेखी पठाएको थियो। लोकमानसिंह कार्की बर्खास्तमा परेपछि बस्न्यात अख्तियारको प्रमुख आयुक्त बनेका थिए।