सिन्धुलीमाढी। कमलामाई नगरपालिकाले सिन्धुलीमाढी स्थित लोकसेवा तयारी कक्षा सञ्चालन थालेको छ। नगरपालिकाको आयोजनामा इच्छुक नवरबासी विद्यार्थीहरूलाई लक्षित गरेर लोकसेवा तयारी कक्षा शुक्रबार उद्घाटन गरी कक्षा सञ्चालन गरेको हो ।

नगरपालिकाका सूचना अधिकारी निर्मल लामाका अनुसार नगरपालिकाले नगरभित्रका बेरोजगार तथा निजामती क्षेत्रमा सेवा प्रवेश गर्न चाहने ईच्छुकहरूलाई लक्षित गरेर नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालनमा ल्याएको बताएका छन्। सूचना अधिकारी लामाका अनुसार नगरले सञ्चालन गरेको नि:शुल्क तयारी कक्षाको लागि नायव सुब्बा/सहायक स्तर पाँचौको लागी ४५ जना, प्रहरी सहायक निरिक्षकको लागी १० जना र सहायक सेनानी तयारीका लागि ३ जनाको आवेदन परेको जनचासो स्रोतलाई बताएका छन् । नगरपालिकाले नायव सुब्बा/सहायक स्तर पाँचौ, प्रहरी सहायक निरिक्षक र सहायक सेनानीको लागी एक महिना तयारी कक्षा नि:शुल्क सञ्चालन गर्ने जनाएको छ।

शुक्रबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कमलामाई नगर प्रमुख खड्ग खत्रीले नगरपालिकाले सञ्चालनमा ल्याएको तयारी कक्षाबाट आफूले दिर्घकालिन फाइदा पुग्दै भन्दै सहभागी सबैलाई ध्यान दिएर कक्षामा सहभागी हुन र आफूले तयारी थालेको सेवा समुहमा सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नु भयो।