काठमाण्डाै – सरकारले कोरोनाविरुद्धकाे खोपको अतिरिक्त डाेज दिने तयारी थालेको छ । खोप सल्लाहकार समितिको सुझावको आधारमा अतिरिक्त मात्रा खोप दिने तयारी थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कहिलेदेखि दिने भन्नेबारे भने निर्णय हुन बाँकी छ । तर तयारी थाल्न भने सम्बन्धित सबैलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
सहप्रवत्ता अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूलाई अतिरिक्त डाेज दिन लागिएको छ । जसमा क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गर्नेहरू र एचआईभीका बिरामी रहेका छन् ।
योसँगै चिनियाँ कम्पनीले उत्पादन गरेको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका वृद्धवृद्धालाई पनि अतिरिक्त डाेज दिने भनिएको छ । अतिरिक्त डाेजमा पहिले लगाएकै खोप दिइने उहाँले बताउनुभयो ।