खाङसाङ। फिक्कल गाउँपालिका सिन्धुलीको प्रशासकिय भवन शिलान्यास भएको छ। पूर्व संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री तथा नेकपा एमाले सिन्धुलीका जिल्ला ईन्चार्ज गणेश कुमार पहाडीले गाउँपालिकाको प्रशासकिय भवन शिलान्यास गरेका हुन्।
गाउँपालिकाले ५ करोड ८९ लाख ५० हजार ४९१ रुपैयाँ ६१ पैसा लागतमा मुख्य प्रशासनिक भवन बनाउन लागेको हो। प्रशासकिय भवन निर्माणका लागि पालिकाले भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ अनुसार २०७८ असार २४ गते बोलपत्र आह्वान गरी धुलिखेल निर्माण सेवा प्रा.लि. सँग मंसिर ३ गते सम्झौता भइसकेको छ। साथै, पालिकाले कार्य प्रारम्भका लागि ५० लाख विनियोजन समेत गरी सकेको छ।
गाउँपालिकाका इन्जिनियर सागर दुलालका अनुसार नयाँ बन्ने प्रशासकिय भवन साढे तीन तले हुने र त्यसमा २७ कार्यकक्षहरू रहने छ। निर्माण कम्पनीले सम्झौता भएको १८ महिना भित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको इन्जिनयर दुलाले जनाएका छन्। भनवको लम्बाई ११३ फिट, चौडाई ४८ फिट र उचाई ४६ फिटको हुने छ। इन्जिनियर दुलालका अनुसार गाउँपालिकाको मुख्य कार्यालयहरू एउटै भवनमा रहने गरी मुख्य प्रशासकिय भवन निर्माण गर्न लागिएको हो।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धन बहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवार, प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, राजनैतिक दलका प्रतिनिधिहरु, बुद्दिजिवी, जग्गा दाता, कर्मचारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता अध्यक्ष श्री धन बहादुर कार्कीले गरेका थिए।

