सिन्धुलीमाढी। सिन्धुलीमाढिमा जारी दोस्रो कमलामाई मेयरकप फुटबल प्रतियोगिताको उपाधी वडा नं. १४ ले जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा वडा नं. -६ लाई २- १ गोलले हराउँदै वडा नं. -१४ ले उपाधी जितेको हो।

यसअघि वडा नं. -६ ले वडा नं. ८ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने वडा नं.- १४ ले वडा नं. -९ लाई पराजित गर्दै फाइनलमा वडा नं. -६ सँग भेट पक्का गरेको थियो। विजेता टोलीलाई कमलामाई नगरपालिकाका नगर प्रमुख तथा मेयर कप समापनका प्रमुख अतिथी खड्ग बहादुर खत्रीले बिजेतालाई १ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।

त्यस्तै, उपविजेतामा टोली वडा नं. -६ ले ५० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो नगरस्तरीय मेयरकप फुटबल प्रतियोगिताबाट वडा नं. -१४ का गोलकिपर अविश्यक अधिकारीले उत्कृष्ट गोल रक्षकको उपाधि जितेका छन्। वडा नं. -६ का अनिष थापाले उत्कृष्ट खेलाडी‍को उपाधी हात पारेका छन्। गत पुस १० गतेबाट दोस्रो नगरस्तरीय मेयरकप फुटबल प्रतियोगिता सिन्धुलीमाढीमा सुरु भएको थियो।

नगर खेलकुद विकास समिती सिन्धुलीले आयोजना गरेको फुटबल प्रतियोगितामा नगरका १४ वटा वडामध्ये १२ वटा वडाले सहभागि जनाएका थिए । वडा नं. -२ र ११ प्रतियोगितामा सहभागि भएका थिएनन् । दोस्रो नगरस्तरीय मेयरकप फुटबल प्रतियोगिताको समापन समारोहमा सम्बोधन गर्दै नगर प्रमुख खत्रीले नगरबाट उत्पादन भएका खेलाडी अब जिल्ला, प्रदेश हुँदै केन्द्रमा समेत उपस्थिती जनाउन अनुरोध गरेका छन्।