काठमाडौं। काठमाडौंलगायत देशभर अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि देशभर हल्कादेखि मध्यम वर्षा भएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले देशभर हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जानकारी दिएको छ। मौसमविद् गंगा नगरकोटीका अनुसार बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको छ।
उहाँका अनुसार काठमाडौंमा आज दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ। पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्ने उनले बताए। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ। काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ।
अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

