काठमाडौं। सरकारले पुस १३ (आज) देखि सुरु गर्ने लागेको फाइजर खोप अभियान स्थगित गरेको छ । आवश्यक स्वास्थ्य सामग्री आयातमा ढिलाई भएपछि केही दिनको लागि अभियान स्थगित गरेको हो।
स्वास्थ्य सेवा विभागका खोप अधिकृत भरत भण्डारीका अनुसार फाइजर खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिँन सिरिन्ज आउन केही ढिला हुने भएकाले खोप अभियान स्थगित गरेको जानकारी दिनुभयो । घोलक आउनेबित्तिकै खोप अभियान सुरु गर्ने भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘खोपलाई आवश्यक पर्ने घोलक आएपछि खोप अभियान सुरु गर्छौं, अहिले कहिलेदेखि खोप अभियान सुरु गर्ने भनेर मिति तोकिएको छैन । सायद, आठ–दश दिनमा अभियान सुरु हुन्छ ।’
फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ । खोप अभियानको लागि छ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ । पुस २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै पुस १३ देखि २२ गते आठ जिल्लामा फाइजर खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको थियो ।
(यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।)

