party bus

काठमाडौं । रेस नेपाल प्रालिले विदेशी शैलिको पार्टी बस सञ्चालनमा ल्याएको छ । ‘भिजिट नेपाल २०२०’ लाई लच्छित गर्दै ल्याइएको बसको माग पछिल्लो समय बजारमा ह्वात्तै बढेको छ ।

यात्रा गरिरहँदा बस भित्र डिस्को, बार, पार्टी गर्न पनि मिल्ने सवारी भएकोले यसको माग बढ्दै गएको पार्टी नेपाल बसका सर्भिस इन्चार्ज विनोद खड्काले बताए । उनका अनुसार २०२०  लाई लक्षित गरेर ल्याइएको बस विश्वभरी महामारी रुपमा फैलिएको कोरोना महामारीका कारण सञ्चालनमा बाधा पुगेको थियो ।

बस सञ्चालन कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि जारी गरिएको लकडाउनका कारण बन्द भयो, तर पछिल्लो समय भने पार्टी बसको माग बढेको छ । महामारीका कारण राम्रोसँग सञ्चालनमा हुन नसके पनि पछिल्ला दिनहरुमा माग ह्वात्तै बढेको रेस नेपालले जनाएको छ । महामारीको जोखिम कम हुन थालेसंगै अहिले विभिन्न खाले पार्टीका लागि यस बसको प्रयोग हुन थालेको छ ।

‘सुरुमा कोरोना महामारीले गर्दा खासै सञ्चालन हुन सकेन’ उनले भने, ‘पछिल्लो समय पार्टी बसको माग बढ्न थालेको छ ।’ साउथ एसियामानै पहिलो पटक सञ्चालनमा आएको पार्टी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिदै आएको छ ।

बसभित्रै डिजे, बार, धूम्रपान कक्ष, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, शौचालय लगायतको व्यवस्था छ । जसले गर्दा विवाह, बर्थ–डे, एनिभर्सरि, स्टाफ पार्टि, ब्याचलर पार्टी, भिजा पार्टी लगायत निजी बुकिङ गरि व्यतिगत पार्टी बनाउन सकिन्छ ।

विभिन्न खाले विशेषता भएकोले अहिले युवा पुस्ता र पार्टी गर्न चाहनेहरुको लागि पार्टी बस नयाँ गन्तव्य जस्तै बनेको छ । पार्टी गर्नका लागि कुनै रेस्टुराँ वा विशेष स्थान धाउन पर्नेहरुका लागि यो सहज माध्यम हुन सक्छ ।

दैनिक बेलुका ८ बजे पछि रिङ्ग रोड र काठमाडौंको भित्री भागमा हप अन राईड अर्थात रमाईलोका लागि चलाउने र पार्टी सकिए पछि झर्ने मिल्ने ब्यवस्था समेत पार्टी बस नेपालले गरेको छ । प्राय रिङ्ग रोड वरिपरि आफ्नो पायक पर्ने चोकमा जम्मा भई मानिसहरुले कल गरेर बस बुकिङ गर्न सकिन्छ । प्रति व्यक्ति १ हजार रुपैयाँ लाग्ने हप अन राईडको लागी रातको ८ बजे पछि पार्टी बसले चोक चोकमा पुगेर माग अनुसार पिक अप गर्ने र पार्टी सकिएपछि सोहि ठाउँमा ल्याएर यात्रुहरुलाई झारिदिन्छ ।

रेस्टुरेन्टहरु निश्चित समय सम्ममात्र खोल्ने भएकोले रेष्टुरेन्टहरुले आफ्ना ग्राहकलाई पार्टी बसमा चढाएर समेत मनोरन्जन दिने गरेको छ । अहिले नयाँ पुस्ताहरुका लागि गुडीरहेको बसमा आफ्नो इच्छा अनुसारका गीतहरु बजाउँदै, पिउँदै, रमाउनु, समुह बनाएर मनोरन्जन लिनु पनि एउटा नयाँ र मिठास अनुभव हुन सक्छ ।

पार्टी बसको योजना

डेनमार्क निवासी असोक शर्माले सन् २०१७ मा पार्टी बस नेपालको परिकल्पना गरेका थिए । पार्टी बस नेपालका प्रबन्धक समेत रहेका शर्माले नेपालको पर्यटनलाई प्रवद्र्वन गर्न तथा आन्तरिक र बाह्य पर्यटकहरुलाई नयाँ अनुभव दिलाउन सन् २०१७ मा यसको अवधारणा डेनमार्कमै तयार गरेका थिए । त्यसपछि उनले नेपालमा सन् २०२० मा ‘भिजिट नेपाल २०२०’ लक्षित गरी यो बस सुरु गरेका थिए ।

अहिले यसले विस्तारै आफ्नो व्यवसायलाई फराकिलो बनाउने योजना बनाउँदै छ । पार्टी बस नेपालका सर्भिस इन्चार्ज खड्काका अनुसार अब लामो दूरीका लागि प्रयोग गर्न मिल्ने बसहरु समेत आउँदैछ । ‘अबको योजना भनेको लामो दूरीका लागि चल्ने बसहरु ल्याउदै छौ । यस्तै छुट्टै भ्यानहरु समेत आउनेछन् ।’ अहिले पार्टी नेपालको दुई बस सञ्चालनमा छन् ।

कहाँ कसरी र कसले रुचाउदैछन् पार्टी बस ?

पछिल्लो समय समुह बनाएर आफ्नो थीम अनुसारको पार्टीमा सञ्चालन हुने गरेको छ । विशेषत कलंकी, ललितपुर, भक्तपुर, बुढानिलकण्ठ क्षेत्रबाट धेरै बुकिङ आउने गरेको रेस नेपालले जनाएको छ ।

यसको माग बढ्दो क्रममा रहनुका साथै आफुले भनेको ठाउँबाट चढ्न पाउने र पार्टीपछि सोहि ठाउँमा झर्न पाइने भएकोले पनि घरबाट समूह बनाएर बाहिर निस्केर बसमा चढेर घर नजिकै झर्नेहरुको संख्या बढ्दो छ ।

पार्टी नेपाल बसमा हालसम्म हेलोईन पार्टी, न्यु एयर पार्टी, क्रीसमस पार्टी, निवन लाईट थिम पार्टी लगायतका बर्थडे पार्टी,  एनीभर्सरी, ब्याचुलर पार्टी, भीजा पार्टी, स्टाफ पार्टी आयोजना भएको रेस नेपालले जनाएको छ ।

पछिल्लो समय कलाकार बोलाएर लोक, पप साँझहरु भएको र पछिल्लो समय यसको क्रेज बढेको साथै उपत्यकाबाहिर पोखरा, चितवन र बुटवलमा बढि माग बढेको रेस नेपालले जनाएको छ ।

उपत्यकाबाहिर यसको माग बढेसंगै यो सेवाले पर्यटन प्रवद्र्धन तथा राजधानीलगायत देशका विभिन्न स्थानमा बाह्य तथा आन्तरिक पर्यटकका लागि मनोरञ्जनको सर्वाेत्तम विकल्प हुने संस्थाको विश्वास छ । उपत्यका बाहिर माग बढ्न थालेकोले पनि लामो दूरीका लागि प्रयोग हुने बस ल्याउने लागिएको रेस नेपालको भनाई छ ।

यसमा गैरआवासीय नेपाली, उद्यमी र पर्यटन उद्योगका अनुभवी व्यक्तिको लगानी रहेको छ । त्यसो त कम्पनीले यस पार्टी बस प्रयोग गरे बापत विभिन्न शुल्क निर्धारण गरेको छ भने फोन गरेर पार्टी बस बुकिङ गर्न सकिने छ ।