सोलुखुम्बु। सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन ८६ मेगावाट क्षमताको हाइड्रोपावरको परिक्षणका क्रममा पाइप पड्किदा दुईजनाको ज्यान गएको हो।

फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपरान्ह पाइप पड्किएर बेहोस भएका दुई जनाको उपचारका लागि ओखलढुङ्गाको मिसन अस्पतालमा मृत्यू भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए। पाइप पड्किदा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवासराज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको हो ।

घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडाैं पठाइएको प्रजिअ शाहीले जनाएका छन्। घाइतेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए।