काठमाडौं। पछिल्लो २४ घण्टामा २१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सात हजार १८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
त्यस्तै, दुई हजार ४९७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा २८३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८५ पुगेको छ ।
यसैगरी, देशभर हालसम्म चार हजार ९०६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७६ हजार ३३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।