काठमाण्डौं । संसदिय समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । 

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएको विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले शिक्षा सम्बन्धी विधेयक तथा ऐनसमेत छिटो ल्याउन सरकारलाई ध्यानकर्षण गराएको छ । यसअघि पनि मेडिकल कलेजमा शुल्क बढी लिएको विवाद भएको भन्दै समितिका सभापति जयपुरी घर्तीले अहिलेको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिनुभयो । 

उहाँले संघीय शिक्षा ऐन आउन ढिला हुँदा विभिन्न समस्याहरु सिर्जना भएको भन्दै छिटोभन्दा छिटो ऐन ल्याउनुपर्ने बताउनुभयो । यस्तै, कक्षा १२ सम्मलाई माध्यमिक तह घोषणा गरिसकेको अवस्थामा एसइई परीक्षा खारेज गर्नुपर्ने भन्दै सभापति घर्तीले एसईई खारेज गर्न समेत निर्देशन दिनुभयो ।

बैठकमा शिक्षा मन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन, प्राविधिक व्यवसाय शिक्षा ऐन र उच्च शिक्षा ऐन निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी गराउनुभयो । एसइई खारेज गर्ने विषयमा सम्बन्धित विज्ञहरुसँग आवश्यक छलफल गरेर शिक्षा ऐनमा व्यवस्था गर्ने उहाँको भनाई थियो । दे

शभरका विद्यालयमा साढे १७ हजार शिक्षक दरबन्दी अपुग रहेको र त्यसको पदपूर्तिको लागि शिक्षक विज्ञापनको काम अघि बढी सकेको पनि उहाँले बताउनुभयो । करिब पाँच वर्षदेखि रोकिएको आन्तरिक शिक्षक बढुवाको काम पनि अघि बढेको उहाँको भनाई थियो ।००००