काठमाडौं। रत्नराज्य क्याम्पस (आरआर) मा एक विद्यार्थीले आफ्नै शिक्षकमाथि हातपात गरेपछि क्यम्पसको पठनपाठन बन्द भएको छ। आरआरका विद्यार्थी कुबेर देशाराले आफैलाई सोसल वर्क पढाउने शिक्षक प्रकाश पुडासैनीमाथि मंगलबार बिहान कुटपिट गरेपछि प्राध्यापकहरूले क्याम्पस बन्द गरेका हुन्।

रत्नराज्यलक्ष्मी क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक स्थलमा प्राध्यापकहरु नै असुरक्षित हुने अवस्था रहेसम्म र आक्रमणकारीलाई गल्ती अनुसारको कारबाही नभएसम्म अध्यापन नगर्ने जनाएका हुन्। विज्ञप्तिमा विद्यार्थीबाट कुटिएर घाइते भएका प्राध्यापकको उपचार गर्न पनि माग गरेका छन्।