काठमाडौं । पशुपतिनाथ मन्दिरको गजुरमा रहेको छत्रावली चोइटिएको छ । 

मन्दिरमा बाँदरहरू चढ्ने, उफ्रने र हल्लाउने गरेकाले छत्रावली चोइटिएको हुन सक्ने पशुपति क्षेत्र विकास कोषको भनाइ छ । छत्रावली चोइटिनुलाई संस्कृतिविद्ले भने अशुभको संकेत मानेका छन् । गजुरसँग दायाँबायाँ रहेको पाता छत्रावली हो । यसमा सुनको जलप लगाइएको हुन्छ ।

कोषका सदस्यसचिव डा मिलनकुमार थापाले छत्रावली पुरानो भएको र बाँदरहरूले चलाइरहने भएकाले चोइटिएको हुनसक्ने जानकारी दिनुभयो । अहिले खट बाँधेर माथि पुगी बाँधेर अड्काउने काम भएको उहाँले बताउनुभयो । मन्दिरको छानोबाट खसेर भक्तजनलाई कुनै चोटपटक नलागोस् भनेर सम्पूर्ण सुरक्षा अपनाइएको उहाँले जानकारी दिनुभयो । खट बाँधेर माथि पुग्नका लागि कोषका तर्फबाट क्षमा पूजा गरिएको थियो ।

एक साताअघि चोइटिएको छत्रावलीलाई मर्मत गर्नका लागि कोषले पुरातत्व विभाग र गुठी संस्थानलाई पत्राचार गरेको थियो । छत्रावलीको अवस्था र त्यसको मर्मत वा पूरै नयाँ बनाउनेबारे विज्ञसहितको टोलीले छानबिन गरी प्रतिवेदन तयार पार्न निर्देशन दिएको विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो । 

कोषले कोषकै संस्कृति महाशाखाका प्रमुख डम्बरबहादुर कार्कीको संयोजकत्वमा विसेट नाइट अरुण बिसेट, पालोवाला भण्डारीहरू सहितको मर्मत समिति बनाएको छ । अहिले सशस्त्र र पहरा गणका दुई दुई जनाको २४ घण्टे सुरक्षा मन्दिरमा छ ।