काठमाण्डौ । विराटनगरमा मोफसलमै पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ । 

संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते महोत्वस हुन लागेको हो । २ दिनसम्म चल्ने महोत्सव अन्र्तगत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरु प्रर्दशन हुने कार्यक्रम छ । आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजनागरि सो बिषयमा जानकारी गराएको छ ।

आदिवासी जनजातिहरुको भाषा, कला, संस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रर्बधनको उद्धेश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिप नारायण राजवंशीले बताउनुभयो । महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भाषाको चलचित्र प्रदर्शन गरिनेछ । प्रर्दशन गरिएका चलचित्रहरु मध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाइएको छ । ००००