काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल प्रकाशित गरेको छ ।

शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ । यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ९९ हजार ५३७ रहेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले  जानकारी दिए । उनका अनुसार ‘सी प्लस’ ल्याउने परीक्षार्थीको संख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् ।

सार्वजनिक नतिजाअनुसार तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् । गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

कोभिड–१९ का कारण परीक्षा दिन नपाएकाहरूले गएको बुधबारदेखि परीक्षा दिएका छन् । कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थी परीक्षामा सहभागी छन् । ती परीक्षार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

कसरी  हेर्ने रिजल्ट ?

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दैछ । नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ ।

नतिजा सार्वजनिक भैसकेपछि शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०० मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।