काठमाडौं । निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ ।
मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनको काम निरन्तर रहनेछ ।
मतदाता नामावली संकलन काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।
आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावली दर्ताको काम टुंग्याउने आयोगको तयारी छ । १२ माघमा राष्ट्रियसभाको चुनाव गर्ने तयारी छ ।
१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।
विशेष कार्यक्रममा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । २० पुसभित्र सबै स्थानीय तहमा मतदाता नामावलीको संकलन कार्य सम्पन्न भइसक्नेछ । ५ पुस २०७७ भित्र १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई समावेश गरी आयोगबाट ४ चैत २०७७ मा प्रकाशित सूचना अनुसार देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता छन् । यो कार्यक्रमबाट देशभर करिब १० लाख मतदाता थप हुने अनुमान गरिएको छ ।

