जाजरकोट। जाजरकोटमा बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु र २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार आइतबार (आज) बिहान नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका-१३ बराहचौरमा दुर्घटना भएको हो।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको जनाएका छन्। बस सडकबाट करीब दुई सय मिटर तल खसेर दुर्घटना भएको छ। दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

