काठमाडौं। संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न गरिएको प्रस्ताव अनुमोदन गरेको छ। महासभाले नेपाललाई सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
बुधबार बसेको महासभाको ४०औँ पूर्ण बैठकले सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने प्रस्ताव सर्वसम्मत अनुमोदन गरेको अमेरिकास्थित नेपालको संयुक्त राष्ट्रसङ्घीय मिसनको कार्यालयले जनाएको छ। सभामा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले सभालाई सम्बोधन गर्दै नेपालको स्तरोन्नति, विकास सुधारका लागि विकास साझेदारबाट प्राप्त हुने सहयोगमा वृद्धि तथा सहजीकरणमा आफ्नो पहल रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्नका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक र सामाजिक परिषद्ले गत असारमा स्वीकृति प्रदान गरेको थियो । नेपालले स्तरोन्नतिका लागि आवश्यक मापदण्ड सन् २०१५ र २०१८ मा पूरा गरिसकेको थियो ।
स्तरोन्नति भएपछिको सङ्क्रमणकालीन अवस्थालाई सन्तुलन गर्न तीन वर्षको समय दिने चलन छ तर कोभिड महामारीलगायतका समस्या थपिएका कारण नेपाल सरकारले गरेको आग्रह स्वीकार गर्दै दुई वर्ष थप गरेर पाँच वर्षको समय नेपालका लागि समयरेखा तोकिएको हो। जसअनुसार नेपालले सन् २०२६ भित्र आफ्नो अवस्था सुधार गर्नुपर्ने हुन्छ । संयुक्त राष्ट्रसङ्घका अनुसार कुनै पनि मुलुकले विकासशील राष्ट्रमा स्तरोन्नति गर्न प्रतिव्यक्ति आय एक हजार २२२ अमेरिकी डलर हुनुपर्ने जनाएको छ । हाल नेपालको प्रतिव्यक्ति आय एक हजार १९१ अमेरिकी डलर रहेको छ।
(यो समाचार आजको गोरखापत्र दैनिकमा छ।)