इलाम। अब इलामबाट पनि सवारी चालक अनुमति पत्र(लाइसेन्स) पाइने भएको छ। वि.सं. २०७१ मङ्सिरमा यातायात व्यवस्था सेवा कार्यालय इलाममा कार्यालय स्थापना गरेपनि बल्ल काम सुचारु गर्न लागेको हो।

कोभिड १९ को सङ्क्रमण जोखिमका कारण झण्डै २ वर्ष सवारी चालक अनुमति पत्रको परीक्षा रोकिएका कारण कार्तिक भर्खरै आवेदन खुलेकाले सेवाग्राहीको चाप बढेपनि सवारी चालक अनुमतिपत्र वितरणको काम इलामबाट पनि अघि बढेको हो। भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि सातामा तीन पटक परीक्षा सञ्चालन गरिने कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।

इलामबाट तत्काल मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, एस्काभेटर, ट्याक्टर, र लोडरको लाइसेन्स वितरण हुने गरी कोटा प्राप्त भएको खतिवडाले बताएका छन्। इलामबाट लाइसेन्स वितरण हुँदा पूर्वका इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीले सहजै सेवा लिन पाउने भएका छन् । यसअघि उनीहरु झापाको बिर्तामोड र सुनसरीको इटहरीस्थित यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यतामा थियो।