बैतडी। बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बैडती स्थित दशरथचन्द नगरपालिका वड नं. -२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द वडन नं. -६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो।

जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै र एकजनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ४० वर्षिय दीपक मालीको उपचारको लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार मृत्यु हुनेहरु सबै दशरथचन्द वडा नं. -६ कै रहेका छन्। दशरथचन्द वडा नं. -६ का ४८ वर्षिय राजेन्द्रबहादुर चन्द, ३८ वर्षिय धनबहादुर चन्द, ६५ वर्षिय प्रेमबहादुर चन्द, ६५ वर्षिय तारासिंह थापा र ५८ वर्षिय खेमसिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमै मृत्यु भएका पाँच जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र बाटोमा मृत्यु भएका चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

दुर्घटनामा परी दशरथचन्द -६ कै ४८ वर्षिय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन्। चन्दको जिल्लामा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढी पठाईएको छ। सडकबाट करिब ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।