बाँके। समाचार संकलन गरेर जिल्ला प्रहरी कार्यालय बाँकेबाट फर्किने क्रममा साङ्घातिक आक्रमणमा परि गम्भीर घाइते भएका मुस्लिम पत्रकार क्लब नेपालका सचिव एंव नेपाल पत्रकार महासंघ बाँकेका कार्यालय सचिव समेत रहेका मेराज सल्मानी माथिको आक्रमणको चौतर्फी रूपमा भत्सर्ना गरिएको छ। मुस्लिम पत्रकारहरूको छाता सङ्गठन “मुस्लिम पत्रकार क्लब नेपाल”ले क्लबका सचिव सल्मानी माथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आफ्नो पेसागत कर्ममा जुटेका पत्रकारमाथि दिन दाहाडै भएको साङ्घातिक आक्रमणले बाँकेमा पत्रकारको सुरक्षा अवस्था दयनीय रहेको थप प्रस्ट्याएको पत्रकार क्लबले विज्ञप्तिमा उल्लेख गरेको छ । क्लबका अध्यक्ष आलम खानद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसरी उल्लेख गरिएको छ “क्लबले पत्रकारमाथि भएको यो आक्रमणको कडा शब्दमा भर्सना गर्दछ । र, घटनामा संलग्न माथि कडा कानुनी कारबाही गर्न र पत्रकार सुरक्षामा गम्भीर बन्न क्लब सम्बन्धित निकायसँग माग गर्दछ ।” पत्रकार सल्मानीके दाँत भाचिएको छ भने मुखमा गम्भीर चोट लागेको छ । पत्रकार सल्मानीको अवस्था खतरामुक्त रहेको परिवारले जनाएका छन्।

