काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आजदेखि नयाँ महशुलदर लागू गरेको छ। प्राधिकरणको नयाँ महशुलदर अनुसार न्युनतम २० युनिटसम्म नि:शुल्क उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

विद्युत् प्राधिकरणको प्रस्ताव अनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महशुलदर आजबाट लागू भएको हो। नयाँ महशुल दर पुस महिनाको बिलिङबाट कार्यान्वयन हुने प्राधिकरणले जनाएको छ। सरकाले विपन्न परिवारलाई २० युनिटसम्म निशुल्क विजुली उपयोग गर्न दिने घोषणा कार्यान्वयनका गर्न निगमल नयाँ महशुल दर निर्धारण गरेको हो। नयाँ विद्युत महशुल दर अनुसार विपन्न मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई शुल्क लाग्दैन। त्यस्ता ग्राहकहरूले मासिक न्युनतम मासिक शुल्क ३० रुपैयाँ शुल्क तिरे पुग्छ।

नेपालमा २० युनिट विद्युत खपत ग्राहक करिब २२ लाख रहेको प्राधिकरणले जनाएको छ। अब २२ लाख ग्राहकले प्रतिमहिना ३० रुपैयाँ शुल्क तिरे पुग्ने भएको छ। प्राधिकरणले
सिंगल फेजबाट विद्युत लिएर १ सय ५१ देखि २ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम गरेको छ। यो पुरानो महशुल दर भन्दा ५० पैसाले सस्तो हो।

४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ। थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ । मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्दै आएकोमा अब वर्षाका समयमा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० शुल्क लाग्ने छ ।

४ सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कबाट घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा शुल्क तोकिएको छ ।