काठमाडौं। चीन विश्वकै धनी मुलुक बनेको छ। कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको प्रतिवेदन अनुसार चीन विश्वकै धनी मुलुको पहिलो स्थानमा आएको हो। 

पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेकाले महाशक्ति राष्ट्र अमेरिकालाई उच्छिन्दै चीन धनी राष्ट्रको सूचीमा एक नम्बरमा परेको हो। कम्पनीले विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको वासलात (ब्यालेन्स शीट) को जाँचपछि तयार गरेको जनाएको छ। पछिल्लो २० वर्षको अवधिमा वृद्धि भएको विश्वको कूल सम्पत्तिमध्ये चीनले एक-तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको प्रतिवेदनमा उलेलेख छ। त्यस अनुसार पछिल्लो २० वर्षको वधिमा चीनको कुल सम्पत्तिमा १६ गुणा वृद्धि भएको देखिन्छ।

प्रतिवेदनअनुसार सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १५६ ट्रिलियन डलर थियो । तर २०२० मा विश्वको कुल सम्पत्ति बढेर ५१४ ट्रिलियन डलर पुगेको छ । उक्त अवधिमा वृद्धि भएको कुल सम्पत्तिमध्ये एक-तिहाई हिस्सा चीनको रहेको छ ।

सन् २००० मा विश्व व्यापार संगठनको सदस्य बन्दा चीनको कुल सम्पत्ति ७ ट्रिलियन अर्थात् ७० खर्ब डलर थियो । सन् २०२० मा त्यहाँको कुल सम्पत्ति बढेर १२० ट्रिलियन डलर पुगेको छ । यसको अर्थ २० वर्षमा चीनको कुल सम्पत्तिमा ११३ ट्रिलियन थपिएको छ ।