घ्याङलेक सम्वाददाता, घ्याङलेक। सिन्धुली स्थित घ्याङलेक गाउँपालिकामा ने.क.पा. माओवादी केन्द्रको गाउँपालिका स्तरीय कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। बुधबार घ्याङलेक गाउँपालिकामा नेकपा माओवादी केन्द्र घ्याङलेकका पार्टी अध्यक्ष शंकरमान घलानको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो। 

प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले र नेपाली काँग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा १ सय १० जना प्रवेश भएका छन्। उनीहरूले नयाँ पार्टी प्रवेश गरेपछि आफुहरु उत्साहित र खुसी भएको बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संघीय सांसद तथा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले गाउँपालिकाको अध्यक्षले नै विकासका काममा पहल नगरेकोले घ्याङलेख गाउँपालिका विकासको क्षेत्रमा पछि परेको गुनासो व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "गाउँपाकिकाको अध्यक्ष जगत बहादुर भोलनले कहिल्यै पनि विकासको काम सम्बन्धि पहल गर्नुभएन।" नेकपा माओवादी केन्द्र सदैव सशक्त भएर अघि बढ्ने र कोही पनि विचलित हुन नपर्ने उहाँको भनाई छ।

केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद तथा जिल्ला ईन्चार्ज राजन दाहालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। त्यस्तै अतिथिहरुमा प्रदेश सांसद तथा बागमती प्रदेश सचेतक बुद्धिमान माझी (वसन्त), जिल्ला सचिवालय सदस्य तथा मरिण गा.पा. प्रवक्ता विमर्श मुक्तान (प्रख्यात), जिल्ला सचिवालय सदस्य तथा जनजाती बागमती प्रदेश संयोजक काजीमान थिङ लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा ५ वटै वडाका कार्यकर्ता भेला भएका थिए भने कार्यक्रम संचालक घ्याङलेख गापा स्तरीय वाइसीएल नेपालको सचिब बिर्ख वाईबा तामाङले गर्नुभएको थियो।