सिन्धुपाल्चोक। सिन्धुपाल्चोक स्थित निर्माणाधिन मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन्। बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा १ सय २ मेगावाट क्षमताको आयोजनाले आफैले प्रतिबद्धता जनाएका प्रभावित स्थानीयहरूको माग पूरा नगरेपछि स्थानीयहरू आन्दोलित भएका हुन् ।
आयोजनाले स्थानीयलाई रोजगारी दिने, स्थानीयबाट निर्माण सामग्री आपूर्ति गर्ने, सामाजिक उत्थानका कामहरू गर्ने लगायतका विभिन्न विषयमा स्थानीय प्रभावितसँग लिखित र मौखिक सहमती गरेको थियो। बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आयोजनाका दोभाषेले मनपरी काम गरेको, चिनियाँ ठेकेदारसँग मिलेर भ्रष्टाचार गर्दै आएको, आयोजना र चिनियाँ ठेकेदारबीच द्वन्द्व मच्चाएको लगायतका आरोप लगाएका छन्। हाइड्रोको विषयमा नगरपालिकामा धेरै उजुरी परेको र उक्त समस्या समाधान हाइड्रोपावरले तत्काल गर्न आग्रह गरेका छन् भने समस्या समाधानमा चासो नदेखाए नगरपालिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्।
बाह्रबिसे नगरपालिका वडा नं. -५ का अध्यक्ष बेल बहादुर रोक्काले आयोजनाले प्रतिबद्धता गरेका विषयहरू पूरा नगरी प्रभावित स्थायीयलाई बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रने बताएका छन्। बाह्रबिसे नगरपालिका वडा नं. -६ का वडाध्यक्ष मोहनलाल श्रेष्ठले आयोजनाले प्रभावितहरूसँग गरेको प्रतिबद्धता के कति कारण पूरा नगरेको हो पनि स्पष्टीकरण सोधिएको र प्रभावितका माग तत्काल पूरा गर्न आयोजनालाई आग्रह गरेको बताएका छन्।
आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले आयोजनाले प्रभावितहरूको माग पूरा गर्न लागि परिरहेको बताए।
(यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ)

