गत डिसेम्बरमा चीनको वुहान राज्यमा फैलिएको नोवेल कोरोना भाइरसले अहिले विश्वव्यापी महामारीको रुपमा संक्रमण भइरहेको छ । वल्डोमिटरको पछिल्लो तथ्याङ्क अनुसार विश्वमा एक लाखभन्दा बढि मानिसहरुको नोवेल कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । सत्र लाख भन्दा धेरै व्यक्तिहरुमा संक्रमण देखिएको छ । यसका साथै झण्डै चारलाख संक्रमितहरु कोरोना भाइरसलाई जितेर निको भएर घर फर्किएका छन् । विश्वमा मानव सभ्यतालाई नै भयंकर चुनौती बनेर संक्रमण भइरहेको नोवल कोरोना भाइरस नेपालमा संक्रमणको दोस्रो चरणमा रहेको तथ्याङ्कले संकेत गरेको छ । पहिलो चरणमा विभिन्न देशबाट नेपाल फर्किएका ८ जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको र कैलालीमा विदेशबाट आएका कोरोना संक्रमित व्यक्तिको परिवारका सदस्य एक जना स्थानीय महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयले बताएको छ । नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा रहेपनि हालसम्म ९ जना व्यक्तिमा मात्र संक्रमण रहनु जसमध्ये एक जना निको भएर नियमित दैनिकीमा फर्कनु र अन्य ८ जनाको स्वास्थ्य पनि सामान्य रहनु राम्रो पक्ष हो ।

हालसम्म नेपालमा तथ्याङ्कका आधारमा कोरोना भाइसरले महामारीको स्वरुप ग्रहण नगरे पनि विश्वव्यापी रुपमा कोरोना भाइरसको अत्यासलाग्दो संक्रमण तथा संक्रमितको कहाली लाग्दो मृत्युदरले नेपाली समुदायमा कोरोना भाइरसको आतंक र त्यसले आर्थिक सामाजिक क्षेत्रमा सिर्जना गरेको बहुगुणक प्रभाव चौतर्फी भयानक हुँदै आएको विज्ञहरुले वताउदै आएका छन् । नेपालमा कोरोना भाइरस व्यवस्थापनमा नेपाल सरकारले उच्च सतर्कता अपनाउदै सम्पूर्ण देश नै लकडाउन घोषणा गरेको छ । छोटो तयारीमा मुलुक लकडाउनमा गएपनि केहि असामाञ्जस्य महसुस भएपनि नागरिक तहमा लकडाउनको पालना उत्साहप्रद रहेको देखिन्छ । कोरोना भाइरसको कारण सिर्जित वर्तमान संकटलाई चिर्दै नेपालमा कोरोना भाइरस नियन्त्रण सरकारी, सामुदायिक र नागरिक तहमा विश्वमा कोरोना महामारी नियन्त्रण नभएसम्म रणनीतिक पहल हुन जरुरी छ । यस सन्दर्भमा उल्लेखित पक्षहरुले खेलेको रणनीतिक भूमिका सुत्रात्मक रुपमा  निम्नानुसार छन् ।

नेपाल सरकार

कोरोना भाइरस रोकथाम तथा नियन्त्रय गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरमा पहलकदमी लिनु पर्ने देखिन्छ । यसका लागि विश्व स्वास्थ्य संगठन र सार्क लगायतका संगठनहरुसँग सहायता एंव प्रविधि जस्ता सामरिक महत्वका बिषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने । साथै कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा दुई छिमेकी राष्ट्र चीनसँग प्रविधि तथा उपकरण  र भारतसँग संक्रमितको उपचारका लागि औषधी आयात व्यवस्थापन प्रत्याभूत गर्न सक्षमता आवश्यक देखिन्छ । नेपाल सरकारले सातै प्रदेश सरकारहरु तथा ७ सय ५३ वटै स्थानीय तहसँग समेत सघन समन्वय तथा साझेदारी हुन जरुरी छ । अन्तर सरकार तथा अन्तर निकाय समन्वय गरी कोरोना संकटबाट उन्मुक्ति पाउन संघ, प्रदेश तथा स्थानीय तहहरु बिचमा बजेट, जनशक्ति, प्रविधि र सूचना लगायत सम्पूर्ण साधन स्रोतमा शिघ्र कार्यमुलक प्रणाली स्वचालित बनाउने । संघीय स्वास्थ्य सेवा प्रणालीलाई सक्षम र प्रभावकारी बनाउन साधन स्रोत सम्पन्न बनाउने । स्वास्थ्य सेवा एंव विपद् व्यबस्थापनसँग सम्बन्धित संस्थागत संरचनालाई पूर्ण क्षमतामा कार्यान्वयनमा ल्याउने । कोरोना रोकथाम तथा नियन्त्रणको सबै घेरामा संलग्न स्वास्थ्यकर्मी, सुरक्षा निकायका व्यक्ति सहित अन्य व्यक्तिलाई जोखिम विश्लेषणका आधारमा समुचित प्रोत्साहनको व्यवस्था गर्ने । कोरोना संक्रमण सम्भावित क्षेत्रमा ट्रयाकिङ्ग-ट्रेसिङ्ग गरी संक्रमितको प्रभावकारी ट्रिटमेन्ट प्रोटोकलका आधारमा उपचार पद्धति सुनिश्चित गर्नु ढिलाई गर्नु हुँदैन । यसका लागि सरकारले लिएको परीक्षण दायरा फराकिलो बनाउने नीति सर्वाधिक महत्वपुर्ण छ ।

प्रदेश सरकार

प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रय गर्न नेपाल सरकार र स्थानीय तहहरुबीचमा सार्थक समन्वय गर्नु पर्ने देखिन्छ । प्रदेश सामाजिक विकास मन्त्रालयहरुले संघीय स्वास्थ्य संगठनका कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी नीति एंव प्रोटकललाई स्थानीय स्वास्थ्य संस्थाहरुमा कार्यान्वयन गर्न सहजिकरण गर्नुपर्ने विज्ञहरुको राय रहेको छ । कोरोना भाइरस नियन्त्रणमा स्थानीय समन्वय तथा साझेदारी हुनु राम्रो संकेत हो । अन्तर स्थानीय सरकार समन्वय गरी कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न प्रदेश सरकारले बजेट, जनशक्ति, प्रविधि र सूचना लगायत सम्पूर्ण साधन स्रोत व्यवस्थापनमा जोड दिने ।

स्थानीय सरकार

विश्वव्यापी महामारीको स्वरुप ग्रहण गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण छ । विदेशबाट नेपाल आएका संभावित संक्रमित व्यक्तिलाई क्वारेन्टाईनमा राख्न क्वारेन्टाईन निर्माण गर्ने र व्यवस्थापकीय प्रबन्ध गर्ने । स्थानीय वडाले पछिल्लो समयमा विदेशबाट नेपाल फर्किएका संभावित संक्रमित व्यक्तिको ट्रयाकिङ्ग-ट्रेसिङ्ग गरी क्वारेन्टइनमा राखेर निगरानी गर्न गर्ने । एक स्थानीय तहबाट अर्को स्थानीय तह आवतजावत बन्द भएको अवस्थालाई अर्थपुर्ण बनाउन स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ ।स्थानीय सरकारको यस संकटमा अर्को आधारभूत कार्यभार लकडाउनका कारण ज्याला मजदुरी गरी छाक टार्ने वर्गको पहिचान गरी उचित राहत व्यवस्थापन गर्नु हो । यस राहत वितरण कार्यमा स्थानीय सरकारहरुको भूमिका सह्रानीय छ । स्थानीय सरकारले कोरोना भाइरस नियन्त्रण गर्न नेपाल सरकार तथा प्रदेश सरकारको नीतिगत निर्णय, बजेट, जनशक्ति, प्रविधि र सूचना सम्बन्धी साधन स्रोत व्यवस्थापन गर्ने ।

समुदायको सहयोग

विश्वव्यापी महामारी कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा स्थानीय समुदायको भूमिका सर्वाधिक महत्वपूर्ण देखिएको छ । समुदायले वडासँग समन्वय गरी विदेशबाट आएका संभावित संक्रमित व्यक्तिलाई क्वारेन्टाईनमा राख्न क्वारेन्टाईन निर्माण गर्न संभावित संक्रमित व्यक्तिको ट्रयाकिङ्ग-ट्रेसिङ्ग गरी क्वारेन्टइनमा राखेर निगरानी गर्ने कार्यमा प्रशंसनीय कार्य हुँदै आएका छन् । ती कार्यका अतिरिक्त समुदायमा आफ्नो गाँस काटेर ज्याला मजदुरी गरी छाक टार्ने वर्गको पहिचान गरी उचित राहत सहयोग गरेर सन्तुष्टी प्राप्त गरेका छन् ।

नागरिकको दायित्व

आज संसारमा सार्वभौम नागरिकले राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकारसँगै नागरिकीय दायित्व पनि पुरा गर्नुपर्ने व्यवस्था हुँदै आएको पाइन्छ । असल नागरिक हुनुको नाताले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले घोषण गरेको लकडाउनलाई सफल बनाई कोरोना रोकथाम एंव नियन्त्रण गर्ने भूमिका अत्यन्त महत्वपुर्ण हुन्छ । साथै संभावित संक्रमित व्यक्तिलाई क्वारेन्टाईनमा राख्न क्वारेन्टाईन निर्माण गर्ने स्वयंसेवकका रुपमा जिम्मेवारी निर्वाह गर्ने । विदेशबाट नेपाल फर्किएका संभावित संक्रमित व्यक्तिले निर्धारित समयसम्म क्वारेन्टइनमा बसी आफु बाँची अरुलाई पनि बचाउने ।