औषधि व्यवस्था विभागले थप ६ वटा कम्पनीको स्यानिटाइजर बिक्री प्रतिबन्ध लगाएको छ । विभागले अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने रसायन मेथानोल भेटिएपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाएको हो ।
विभागले बजारमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरेर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यूनतम मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीतका मानव स्वास्थयलाई हानी पुर्याउने रसायन मेथानोल भेटिएपछि ती कम्पनीहरुका स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए ।
महानिर्देशक भट्टराईका अनुसार सीता हर्बलले उत्पादन गरेको ५० मिलिलिटर दरको बट्टामा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशतसम्म मेथानोल भेटिएको, मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमासमेत मेथानोल भेटिएले त्यस्ता कम्पानीहरुको स्यानिटाइजर बिक्री वितरणमा प्रतिबन्ध लगाईएको हो ।
विभागले यसअघि नै गुणस्तरहीन भएको भारतीय, चिनियाँ तथा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।

