काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या समाधान तोकिएकै समय सीमाभित्र सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई निर्देशन दिएकी छन्। सोमबार राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचलमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आयोगले गरेका कामलाई आधार मानेर बाँकी काम तोकिएको समय सिमाभित्र सम्पन्न गर्न निर्देशन दिएकी हुन्।
मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा ढिलाइ गर्न नहुने भन्दै प्रभावकारी रुपमा योजना र कार्यविधि बनाउन निर्देशनसमेत दिइन्। ‘आयोग गठन हुने तर कामले पूर्णता नपाउने कुराको अब अन्त्य हुनुपर्छ, अघिल्ला आयोगले गरेका कामलाई स्वामित्व नलिने परम्परा छ, नागरिकलाई नैसर्गिक अधिकार दिन ढिला भइसक्यो, जुन कुरा संविधानमा नै छ त्यो काम गर्न ढिला गर्नुहुँदैन । भूमिहिन किसानका समस्या छिटोभन्दा छिटो समाधान गरेर उनीहरुलाई अधिकार सम्पन्न गराउनु पर्छ’, उनले भने।

