काठमाडौं। लामो समयपछि खुलेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनेको लागि तीन सातामा झण्डै चार लाखले आवेदन दिएको यातायात व्यवस्था विभागले जनाएको छ। कोभिड १९ सङ्क्रमण जोखिमका कारण दुईवर्ष यता पटक पटक सेवा बन्द रहँदा आवेदन ह्वात्तै पर्न आएको विभागले जनाएको छ। यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन खुलाएको हो।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार नयाँ आवेदन खुल्नु अघिकै करिब दुई लाख आवेदन दिएकाहरूको परीक्षा लिन बाँकी रहेको र अहिले नयाँ आवेदन दिनेको संख्या जोड्दा झण्डै छ लाखको हाराहारीमा पुगेको बताए।

गत २०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै सवारी चालक अनुमति पत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा संक्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि संक्रमण पुनःबढेपछि स्थगित भएको थियो। दुई वर्षयता नियमित रुपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् ।