काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ। सोमबार (आज) एक समारोहकाबीच आयोगका प्रमुख आयुक्त आयुक्त प्रेम कुमार राईले आयोगको ३१ औँ वर्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेका हुन्।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको ३१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको हो। आयोगले राष्ट्रपति समक्ष पेश गरेको प्रतिवेदनमा आ.व. २०७७/७८ मा १४ हजार ४२५ उजुरी प्राप्त भएको र अघिल्लो आ.व.को ८ हजार २०० उजुरी कारबाही हुन बाँकी रहेको जनाएको छ। यस आर्थिक वर्षमा आयोगले कुल २२ हजार ६२५ उजुरी मध्ये १४ हजार ५३२ उजुरी प्रारम्भिक छानबिनबाट फर्छ्योट भएको जनाएको छ। भने अघिल्लो आर्थिक वर्षको ८ हजार ९३ वटा उजुरी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेको जनाएको छ।

त्यस्तै उजुरीको संख्याको आधारमा सबैभन्दा बढी संघीय मामिला (स्थानीय तहसमेत) सँग सम्बन्धित ३२.७२ प्रतिशत उजुरी परेको जनाएको छ। त्यस पश्चान शिक्षा क्षेत्रमा १५.६१ प्रतिशत, भूमिसँग सम्बन्धित ९.०९ प्रतिशत, वन तथा वातावरणसँग ५.०१ प्रतिशत, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ३.९३ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित ३.७६ प्रतिशत, गृह प्रशासनसँग ३.४७ प्रतिशत, उर्जा जलस्रोत तथा सिंचाईसँग सम्बन्धित ३.०९ प्तिशत र अर्थ मन्त्रालयसँग सम्बन्धित २.०९ प्रतिशत उजुरी परेको प्रतिवेदनमा उल्लेख छ।