मकवानपुर। बागमती प्रदेश सरकार आज (बिहीबार) गठन हुने भएको छ । नेकपा (एमाले) को नेतृत्वमा मुख्यमन्त्री बनेका अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेपछि मुख्यमन्त्रीबाट राजीनामापछि दिएसँगै नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन्।
गत भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्यले अल्पमतमा परेपछि शाक्यले बुधबारको प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गरेका थिइन्। त्यस लगत्तै राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको बाटो खुलाएका हुन्।
शाक्यले अल्पमतमा परेपछि राजिनामा दिएसँगै प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाका सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्ममा मुख्यमन्त्री नियुक्तिका लागि दावी पेस गर्न आव्हान गरेका छन्।
प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान भएसँगै गठबन्धनका दलहरु नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेले बुधबारनै प्रदेश प्रमुखसमक्ष आफ्नो दावी पेस गरेका छन्। हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ।