काठमाडौं। सोमबार बसेको मन्त्री परिषद् बैठकले शिक्षक सेवा आयोग नियमावली संशोधनका लागि समितिमा लाने निर्णय गरेको छ। शिक्षक सेवा आयोगको प्रस्ताव स्वीकृत गर्दै उक्त प्रस्ताव शिक्षा समितिमा लाने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

शिक्षक सेवा आयोगमा सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार  नियमावलीको १० औं संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको हुँदा उक्त प्रावधानलाई संशोधनगरी फरकफरक प्रावधानमा परीक्षा सञ्चालन गर्न आयोगले प्रस्ताव पठाएको हो। उनका अनुसार नियम १८ मा आयोगमा लिइने परीक्षा र ३८ मा भएको प्रावधानलाई संशोधन गरी आन्तरिक प्रतियोगितामा विषयगत परीक्षाको प्रावधानलाई संशोधन गरी १०० पूर्णांकको लिखित र अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा गरी जम्मा १२५ पूर्णांकको परीक्षाको व्यवस्था गर्ने गरी प्रस्ताव मन्त्री परिषद्‍मा पठाएको थियो ।

मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावली ११ औँ संशोधन प्रस्तावलाई शिक्षा समितिमा पठाउने निर्णय गरेसँगै अब शिक्षक सेवा आयोगको विज्ञापन अनिश्चित भएको छ। आयोगको प्रस्ताव आजको मन्त्री परिषद्ले स्विकृत गरेको भए आयोगलाई खुला तथा आन्तरिक प्रतियोगिताका लागि बाटो खुल्ने थियो तर प्रस्ताव शिक्षा समितिमा धकेलिएकाले कहिले स्वीकृत हुन्छ एकिन साथ भन्न सकिने अवस्था रहेन आयोगका एक अधिकारीले भने। उनी भन्छन् 'मन्त्री परिषद्को आजको यो निर्णयले  आयोगको काम पछाडि धकेलियो, वार्षिक कार्यतालिकामा असर पर्ने भयो।'