तस्विर: विमल श्रेष्ठ

रामेछाप। प्रगतिशिल ग्रामिण समाज लिखु तामाकोशी -०२, सैपुको भवन निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्ने संस्थाका अध्यक्ष राम बहादुर कार्कीलाई समाजले सम्मान गरेको छ। समाजले कार्तिक २ गते वडा नं. २ को सिरिसे बजारमा एक कार्यक्रमबीच समाजको भवन निर्माणका लागि ५ आना जग्गा नि:शुल्क उपलब्ध गराएकाले अध्यक्ष कार्कीसहित उहाँकी धर्मपत्नी जानुका कार्कीलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरेको हो।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा समाजका संरक्षक अमरदीप सुनुवारले समाजको भवन निर्माणका लागि अध्यक्षबाट नै निशुल्क जग्गा उपलब्ध गराउने कार्य उदाहरणिय, अतुलनिय, अविस्मरणिय र अनुकरणिय कार्य रहेको बताउनु भयो। उहाँले संस्थाको भवन निर्माण आगामि दिनमा सरोकारवाला सबैको सहयोग र समन्वयमा हुने विश्वास व्यक्त गर्नुभयो । साथै, कार्यक्रमलाई सम्बोधन गर्दै समाजको भवन निर्माणका लागि आफ्नो तर्फबाट समेत आवश्यक सहयोग र पहलकदमी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका विशेष अतिथि लिखु तामाकोशी -०२, का वडा अध्यक्ष पदम बहादुर तामाङले समाजले गरेका राम्रा कामको लागि वडा कार्यालयले सदैव सकारात्मक सहयोग हुने बताउनु भयो।

समाजले सम्मान कार्यक्रम सँगै अन्तरसामाजिक संस्था हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो। हाजिरी जवाफ प्रतियोगितामा लिखु तामाकोशी गाउँपालिकाका -०२ मा सक्रिय १२ वटा सामाजिक संस्थाहरूले भाग लिएका थिए भने हाजिरी जवाफ प्रतियोगितामा सिरिसे युवा सेवा समाज प्रथम, रोल्फू सामूदायिक वन उपभोक्ता समुह द्वितीय र तारुके सेल्लेनी सामूदायिक वन उपभोक्ता समुह तृतीय भएको थियो। साथै, संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका ४ जना छात्रछात्रालाई प्रगतिशिल छात्रवृत्ति वितरण गरेको छ। शैक्षिक स त्र २०७६ र २०७७ का एसईईमा उत्कृष्ट अङ्क ल्याउने २ छात्र र २ छात्रालाई जनही १/१ हजारका दरले प्रगतिशिल छात्रवृत्ति प्रदान गरेको हो।

कार्यक्रमको अध्यक्षता समाजका वरिष्ठ उपाध्यक्ष चित्र बहादुर कार्कीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन समाजका सल्लाहकार रेख बहादुर पौडेलले गर्नु भएको थियो।