काठमाडौं। २०७८ असारमा रोकिएको १२ औँ जनगणना आगामी कार्तिकबाट शुरु हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका कार्तिक र मंसिरमा हुने गरी स्वीकृत गरेको हो।
केन्द्रीय तथ्यांक विभागका अनुसार विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो। जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरी मन्त्रीपरिषद्ले स्वीकृत गरेको हो। विभागको कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन्।
त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। उनका अनुसार तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ। विभागले यस अघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो।

