काठमाडौं। सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि समिति गठन गरेको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा परराष्ट्र सचिव भरतराज पौडेलले परराष्ट्र मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरिएको जानकारी दिनुभएको हो । अफगानिस्तानमा रहेका नेपालीहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि समिति गठन भएको उहाँले जानकारी दिनुभयो । समितिमा अन्य सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि रहेने उहाँले बताउनुभयो । अफगानिस्तानमा हाल करिब १५ सय नेपाली रहेको अनुमान गरिएको छ ।

काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरेको छ । उनीहरुले आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने पौडेलले बताउनुभयो । यसैबीच, तालिवान लडाकूहरु अफगानिस्तानको राजधानी कावुलमा प्रवेश गरेसँगै अमेरिकाले आफ्ना दूतावासका कर्मचारीहरुलाई हेलिकप्टरमार्फत उद्दार गरेको छ । अमेरिकी अधिकारीहरुले आफ्नो दूतावासका कर्मचारीहरुलाई हेलिकोप्टरबाट उठाएर एयरपोर्टतर्फ लगेको विविसिले जनाएको छ ।००००