काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: कुलमान घिसिङ नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठको निर्णयले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
२०७७ भदौमा आफ्नो पहिलो कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई पुन: नियुक्त गर्नुपर्ने दबाबकाबीच ओली सरकारले विदा गरेको थियो। तर, सरकार परिवर्तन हुन साथ अर्थात् १ वर्ष पछि कुलमान घिसिङ् पुन: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्। नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर महत्वपूर्ण भूमिका खेलेका घिसिङको कार्यकाल पुरा हुन साथ प्राधिकरणमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो।
घिसिङको यसअघिको कार्यकालमा सुरु गरेका धेरै आयोजना प्राधिकरणको वर्तमान नेतृत्वले अघि बढाउन नसकेको र प्राधिकरण फेरि पहिलेकै अवस्थामा फर्किने जोखिम हुने ठहर गर्दै घिसिङलाई फेरि मौका दिने सहमति भएको मन्त्रालय स्रोतले बताएको छ।
वर्तमान कार्यकारी शाक्यलाई पदबाट राजिनामा दिएर सहयोग गर्न जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूसालको आग्रहमा शाक्यले आफूलाई उचित जिम्मेवारी दिए प्राधिकरणबाट विदा हुने बताएपछि उनलाई सरकारले जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद -सचिव सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आयोगको गठन आदेशमा समेत संशोधन गरिएको छ ।

