सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सञ्चालित सि.सं.१४(क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह आईतबार सम्पन्न भएको छ । समारोहका प्रमुख अतिथि गृहमन्त्री खाणले उक्त तालिममा सर्वोत्कृष्ट सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वलीलाई खुकुरी प्रदान गर्दै दिक्षान्त कार्यक्रम समापन भएको हो।
समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले कर्तव्यपालनाको सिलसिलामा राष्ट्र र नागरिकको सेवा र सुरक्षाको खातिर आफ्नो प्राणको समेत आहुती दिनुभएका सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै उहाँहरुको योगदानको स्मरण गर्नुभयो । उहाँले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा खटिएर सीमा सुरक्षा तथा व्यवस्थापन, नागरिकको सेवा, विपद् प्रकोपमा परेकाहरुको उद्वार, कोभिड–१९ महामारी व्यवस्थापनका साथै राजस्व चुहावट नियन्त्रण लगायतका जिम्मेवारीमा सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेका कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले २२६ वटा बिओपीहरु स्थापना गरी डेडिकेटेड फोर्सको रुपमा खटिरहेको र भविष्यमा बिओपीको संख्या ५०० पुयाउने नेपाल सरकारको लक्ष्य रहेको बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपाललाई जनशक्ति एवं श्रोत साधन सम्पन्न बनाउन नेपाल सरकारको तर्फबाट प्रतिवद्धता जनाउँदै थप व्यवसायीक¸अनुशासीत¸ इमान्दार र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो।
गृहमन्त्री खाणले दिक्षित अधिकृतहरुलाई तालिमबाट प्राप्त फौजी ज्ञान, कला कौशलको उच्चतम प्रयोग गर्दै ईमान्दार र पूर्ण व्यवसायिक भई मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा राज्य र नागरिकले सोचे र खोजे जस्तो सेवा प्रवाहमा निर्भिकताकासाथ उच्च जिम्मेवारी बोध गर्दै कार्यसम्पादनमा जुट्न समेत निर्देशन दिनुभयो । उहाँले शान्ति सुरक्षा वहाली राज्यको प्रमुख दायित्व रहेको उल्लेख गर्नुहुँदै कार्यसम्पादनको क्रममा सम्वद्ध अन्य निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै नेपाल सरकारले लिएको लक्ष्य प्राप्तीमा सबैले आ–आफ्नो ठाउँबाट ईमान्दारिताकासाथ काम गर्नुपर्ने बताउनुभयो ।

